बाढीले मनाङको नासोँ गाउँपालिको भवनसहित होटल तथा बैंक रहेको भवनहरु बगायो:

  ।   २ असार २०७८, बुधबार १६:२१

मनाङ।मर्स्याङ्दी नदीमा आएको बाढीले मनाङको नासोँ गाउँपालिका भवनसहित होटल तथा बैंक रहेको भवनहरु बगाएको छ।मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेका अनुसार नासोँ गाउँपालिकाको भवन, इलाका प्रहरी कार्यालय भवन, प्राइम बैंकको शाखा रहेको भवनसहित धारापानीमा रहेका पाँचवटा होटल रहेका भवनहरुमा मर्स्याङ्गदी नदीमा आएको बाढीले क्षति गरेको छ।

यस्तै नासोँ गाउँपालिका वडा नम्बर ५ को कार्यालय, थोंचे स्वास्थ्य चौकी तथा स्थानीय तहमा बनाइएको लघु जलविद्युत आयोजना बाढीले बगाएको छ।मध्यान्न केहीबेर पानी पर्न रोकिए पनि अहिले फेरि पानी परिरहेको छ। यस्तै नासोँ गाउँपालिकाको ताल गाउँका २४ घरमा पनि बाढीले क्षति गरेको जानकारी आएको उनले बताए।

सदरमुकाम चामेमा अहिलेसम्म बाढीका कारण १० घर बगाएको वा क्षति भएको छ। तर क्षतिको यकिन विवरण आउन भने समय लाग्ने प्रमुख जिल्ला अधिकारी लामिछानेले बताए।चामेमा मर्स्याङ्दी नदीमा पानीको सतह त्यति कम नहुँदा जोखिम कायम रहेको बताएका प्रमुख जिल्ला अधिकारीले सतर्क रहँदै नअत्तालिन स्थानीय बासिन्दासँग आग्रह गरेका छन्।

 

Next Post

नेकपा एमाले नेपाल पक्षधरको स्थायी कमिटी बैठक बस्दै

२ असार २०७८, बुधबार १६:२१
काठमार्डौँ। नेकपा एमाले बिद्रोही पक्षले केहीबेरपछि आफू पक्षीय स्थायी कमिटी बैठक बोलाएको छ।स्थायी कमिटी सदस्य युवराज ज्ञवालीका अनुसार स्थायी कमिटी सदस्यहरु विभिन्न स्थानमा रहेकाले भर्चुअल बैठक डाकिएको हो। सर्वोच्च अदालतको पछिल्लो आदेश, विकसित अन्य राजनीतिक परिस्थिति र आफूहरुको पार्टीभित्रको अन्तरसंघर्षमा बैठक केन्द्रीत हुने ज्ञवालीले बताए।