विपक्षी गठबन्धनले भने- ‘सर्वोच्चबाट संविधानको संरक्षण हुनेमा विश्वस्त छौं’

  ।   १६ जेष्ठ २०७८, आईतवार १३:३२
फाइल  फोटो
फाइल फोटो

काठमाडौं। प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमविरुद्ध एकजुट भएका विपक्षी दलका नेताहरुले सर्वोच्च अदालतप्रति पूर्ण भरोसा रहेको जनाएका छन्। कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा आज बसेको बैठकमा विपक्षी गठबन्धनमा रहेका पाँच दलका नेताले संविधानको संरक्षण गर्ने अधिकार सर्वोच्च अदालतको भएकाले संरक्षण हुनेमा आफूहरु विश्वस्त रहेको बताएका हुन्।

सर्वोच्चबाट न्याय पाउने विश्वास व्यक्त गर्दै उनीहरुले भनेका छन्, ‘संवैधानिक सर्वोच्चता, कानुनी शासन प्रणाली र स्वतन्त्र न्यायालय रहेको हाम्रो देशमा सर्वोच्च अदालतबाट संवैधानिक व्यवस्थाको संरक्षण भई न्याय प्राप्त हुनेमा हामी विश्वस्त छौँ।’

संविधान र लोकतन्त्रका पक्षमा आवाज उठाउन सबैमा अपील गर्दै नेताहरुले भनेका छन्, ‘लामो कठोर संघर्षबाट प्राप्त नेपालको संविधान र लोकतन्त्रको पक्षमा एकताबद्ध सशक्त किसिमले आवाज उठाउन र दृढताका साथ अग्रसर हुन हामी सम्पूर्ण राजनीतिक दलका नेता र कार्यकर्ताहरु तथा आम जनसमुदायमा हार्दिक आह्वान गर्दछौं।’

कांग्रेस सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमाले नेता माधव नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र जनमोर्चाकी नेतृ दुर्गा पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा नेताहरुले सरकारका संविधान विपरीतका र अलोकतान्त्रिक काम कारबाहीमा सहयोगी नहुन राज्यका सबै अंग र निकायहरुलाई आग्रह पनि गरेका छन्।

 

Next Post

तयारी नपुगेको भन्दै एमाले स्थायी कमिटी बैठक स्थगित

१६ जेष्ठ २०७८, आईतवार १३:३२
काठमाडौं । नेकपा एमालेको आज साँझ ५ बजेका लागि बोलाएको स्थायी कमिटी बैठक स्थगित भएको छ। तयारी नपुगेको भन्दै बैठक स्थगित गरिएको हो।एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले आइतबार ५ बजे बस्ने भनेको स्थायी समिति बैठक सोमबार बिहान १० बजे बस्नेगरी स्थगित भएको जानकारी दिए। बैठकमा विशेष गरी शनिबार अध्यादेशमार्फत् […]