प्रधानमन्त्री ओली र नेता नेपालबीच भेटवार्ता सुरु

  ।   ३० बैशाख २०७८, बिहीबार १४:५६
 फाइल फोटो
फाइल फोटो

काठमाडौं। नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता सुरु भएको छ। नेता द्वयबीच व्यवसायी क्याप्टेन रामेश्वर थापाको चपलीस्थित घरमा दुई भेटवार्ता सुरु भएको स्रोतले बताएको छ।

बिहीबार अध्यक्ष ओलीले नेपाललाई फोन गरेर भेटका लागि प्रस्ताव गरेका थिए। तर नेता नेपालले भने बालुवाटारमा नआउने बताएपछि समय र स्थानको टुंगो लागेको छैन। बिहीबार बसेको एमाले स्थायी कमिटी बैठकले नेता नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई गरिएको निलम्बनको कारबाही फिर्ता लिने निर्णय गरेको छ।

वरिष्ठ नेता नेपालले २०७५ जेठ २ को अवस्थामा पार्टीलाई फर्काउनु पर्ने अडान राख्दै आएका छन्। आफूहरूको अडानमा ओली सहमत नभएमा नेपाल पक्षीय सांसदले आजै राजीनामा दिने बताएका छन्।

आफ्ना ६बुँदे माग पूरा नभए राजीनामा दिने नेपाल समूहको स्थायी कमिटी बैठकले निष्कर्ष निकालेको थियो। ‘दुई नेताबीच हिजो टेलिफोन संवाद भएको थियो। आज एकताको निर्णायक पहल स्वरुप वार्ता सुरु भएको हो,’ नेता सोमप्रसाद पाण्डेले भने।

नेता नेपालले २७ वैशाखमा ६बुँदे माग अघि सारेका थिए। नेता नेपालले सर्वोच्च अदालतको फैसला तथा नेपाल कम्युनिष्ट पार्टी एमालेको विधान, नियमावली, आचारसंहिता अनुरूप २०७५ साल जेठ ३ गते पार्टी एकीकरण हुनुपूर्वको अर्थात जेठ २ गतेको स्थितिमा पार्टी, जनसंगठन र पेशागत सगठनका सबै संरचनाहरूलाई केन्द्रदेखि स्थानीय तहसम्म क्रियाशील तुल्याउनुपर्ने, नवौं राष्ट्रिय महाधिवेशको मार्ग निर्देशन र पार्टीको विधानविपरीत २०७७ साल फागुन २८ गते गरिएका केन्द्रीय कमिटी विघटन गर्ने लगायतका निर्णय रद्द गर्नुका साथै त्यसको आधारमा त्यसपछि भएका सबै निर्णयहरू खारेज गर्नुपर्ने माग गरेका थिए।

यस्तै पार्टीलाई विधान र पद्धति अनुरुप सञ्चाल गर्नुपर्ने उनको माग थियो। पार्टीमा उत्पन्न अन्तरविरोध, मतभेद र विवादका कारण सिर्जित समस्याहरू तथा एकअर्काप्रति लगाइएका आरोप-प्रत्यारोप एवं समस्याबारेमा यथोचित समयमा समीक्षा गरी आवश्यक निर्णय गर्नुपर्ने, सरकार र पार्टीबीचमा समन्वय र सु-सम्बन्ध कायम गर्दै पार्टीको सिद्धान्त, नीति, कार्यक्रम र देश तथा जनताको सर्वोपरी हित, अपेक्षा र आवश्यकताअनुसार सञ्चालन गर्नुपर्ने शर्त नेता नेपालको पत्रमा उल्लेख थियो। यस्तै उनले पार्टीलाई एकताबद्ध रूपमा अगाडि बढाउने र समयमै राष्ट्रिय महाधिवेशन र विभिन्न तहका अधिवेशनहरू सम्पन्न गर्ने माग प्रस्तुत गरेका थिए।

नेता नेपालका यी माग पूरा गर्ने जिम्मेवारी बिहीबार बसेको एमालेको स्थायी कमिटी बैठकले अध्यक्ष ओलीलाई दिएको थियो। त्यही जिम्मेवारी अनुरुप उनले नेता नेपालसँग संवाद गरेका हुन्।

Next Post

नगर प्रमुख शाहीद्धारा,आफु चढ्ने गाडि विरामी बोक्न हस्तान्तरण :

३० बैशाख २०७८, बिहीबार १४:५६
  दान बहादुर खत्री कालिकोट। जिल्लाको तिलागुफा नगरपालिकाका नगर प्रमुख रत्न बहादुर शाहीले आफु चढ्दै आएको बा २ झ ४२६५ नम्बरको गाडि अहिले कोरोना भाइरस (कोभिड-१९)का विरामी लाई बोक्नका लागी नगरबासीलाई हस्तान्तरण गरेका छन । बढ्दो माहामारीलाई कम गर्ने र तिलागुफा नगरपालिका कुनै पनि जनताले कोराना र अन्य विरामीका कारण […]